नियमअनुसार भ्रमण भत्ता नपाएको गुनासो

अरुण पोष्ट समाचारदाता

ताप्लेजुङ, १६ जेठ  / सहकारी विभागले कार्यक्रममा बोलाएर नियम अनुसार दैनिक भ्रमण भत्ता नदिएर आफूहरुमाथि अन्याय गरेको भन्दै पाँचथरका सहकारीकर्मीले आपत्ति जनाएका छन् । विभागद्वारा बुधबार ताप्लेजुङमा आयोजित एक कार्यक्रममा सहभागिताका लागि डिभिजन सहकारी कार्यालय इलामले पठाएको पत्रअनुसार सहभागीलाई भत्ता नदिएको उनीहरुको आरोप छ ।

सहकारी विभागले आयोजना गरेको सहकारी व्यवसाय प्रवद्र्धन गोष्ठीमा सहभागी भएबापत पाउने दैनिक भ्रमण भत्ता बिपरित सहभागीलाई जनही तीन सय रुपियाँ मात्र दिएर अन्याय गरेको भन्दै पाँचथरका सहभागीले रकम अस्वीकार गरी बुझेका छैनन् । पाँचथरका सहभागीहरुका तर्फबाट बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जीवन गिरी र जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष प्रेम ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सेवा र शर्त दिइने लिखितपत्र बिपरित दिइएको सुबिधा नलिई फर्काइएको उल्लेख छ ।

स्रोतका अनुसार सहकारी विभागले पत्रमा उल्लेखित सङ्ख्या भन्दा बढी सहभागी भएकोले पाँचथरका सहभागीका लागि छुट्याइएको बजेटलाई दामाशाही रुपमा भ्रमण भत्ता बापत बितरण गर्ने निर्णय गरेको थियो । उक्त जिल्लाबाट बढिमा ८५ जना सहभागी माग गरिएकोमा पाँचथरबाट एक सय ३० जना कार्यक्रममा सहभागी भएका थिए । मागअनुसारको सहभगी सङ्ख्यालाई मात्र नियमअनुसार रकम उपलब्ध गराउन आफूहरुले प्रस्ताव राख्दा पनि कुनै सुनुवाइ नगरी सहकारी विभागबाट आएको आयोजक टिम कार्यक्रम स्थलबाट भागेका सहभागीले आरोप लगाएका छन् ।

यता उक्त गोष्ठीमा ताप्लेजुङ र पाँचथरका सहकारीकर्मी तथा सङ्घ/संस्थाहरुबाट करिव दुई सय जना सहभागी थिए । सहकारीकर्मीहरुबीच व्यवसाय प्रवद्र्धनका लागि साझा दृष्टिकोण बनाउन सुरु भएको कार्यशालामा सहकारी संस्थाले खेल्नुपर्ने भूमिका र संस्थागत अपनत्वका बिषयमा छलफल भएको थियो । सहकारी विभागका उप रजिष्ट्रार नारायणप्रसाद अर्यालको उपस्थितमा भएको गोष्ठीमा ताप्लेजुङले प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, वरिष्ठ कृषि विकास अधिकृत नरेशचन्द्र घिमिरे लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुनभएको थियो ।


प्रतिक्रिया दिनुहोस्