धोनीको हेल्मेटमा मात्र किन हुँदैन राष्ट्रिय झण्डा ? यस्तो छ कारण

१७ फाल्गुन २०७४
एजेन्सी। अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा केही देशका राष्ट्रिय खेलाडीहरुको हेल्मेटमा राष्ट्रिय झण्डा अंकित गरिएको हुन्छ । केही देशका खेलाडीको हेल्मेटमा भने आफ्नो क्रिकेट बोर्डको लोगो अंकित गरिएको हुन्छ । केही देशले आफ्नो देशको राष्ट्रिय चिन्ह प्रयोग गर्छन् । प्रचलन जस्तो भए पनि सबै खेलाडीको हेल्मेट भने उस्तै किसिमको हुन्छ । जस्तो कि अस्ट्रेलियाका खेलाडीको हेल्मेटमा राष्ट्रिय चिन्ह हुन्छ, पाकिस्तानका खेलाडीको हेल्मेटमा क्रिकेट बोर्डको लोगो हुन्छ । भारत, दक्षिण अफ्रिकाका खेलाडीको हेल्मेटमा भने राष्ट्रिय झण्डा अंकित गरिन्छ ।

सबै भारतीय खेलाडीको हेल्मेटमा राष्ट्रिय झण्डा अंकित हुने भए पनि भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको हेल्मेटमा भने राष्ट्रिय झण्डा अंकित गरिएको छैन । धोनीबाहेक अन्य सबै खेलाडीको हेल्मेटमा भने राष्ट्रिय झण्डा हुन्छ । धोनीको हेल्मेटमा भने भारतीय क्रिकेट बोर्ड बीसीसीआइको लोगो मात्र छ । धोनीको हेल्मेटमा मात्र किन राष्ट्रिय झण्डा अंकित नगरिएको हो त रु यसको कारण स्वयं धोनी नै हुन । उनले नै आफ्नो हेल्मेटमा राष्ट्रिय झण्डा नराखेका हुन् । यसको पछाडि एउटा रोचक कारण छ ।

धोनी भारतीय टिममा ब्याट्सम्यानसँगै विकेटकिपर पनि हुन् । यही कारण उनी हेल्मेट ब्याटिङ गर्दा मात्रै होइन विकेटकिपिङ गर्दा पनि लगाउँछन् । किपिङ गर्दा धोनीले फास्ट बलरले बलिङ गर्दा हेल्मेट लगाउँछन् । स्पिनरले बलिङ गर्दा हेल्मेट खोलेर भुइँमा राख्छन् । यसरी हेल्मेट खोलेर भुइँमा राख्दा राष्ट्रिय झण्डाको अपमान नहोस् भनेर उनले हेल्मेटमा राष्ट्रिय झण्डा नराखेका हुन् । उनको हेलमेटमा बीसीसीआइको लोगोमात्र अंकित छ जबकि अन्य खेलाडीको हेल्मेटमा भने बीसीसीआइको लोगोसँगै राष्ट्रिय झण्डा पनि अंकित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्