ताप्लेजुङलाई एक अर्ब ९६ करोड बजेट

ताप्लेजुङ संबाददाता

ताप्लेजुङ, १८ जेठ / ताप्लेजुङलाई आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै दुई अर्व बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेटअनुसार ताप्लेजुङका लागि कुल एक अर्व ९६ करोड ५७ लाख रुपियाँ रकम विनियोजन भएको हो । यद्यपि, राजश्व बाँडफाँड सम्बन्धी शीर्षकको रकम भने जिल्लाले पाउने वा नपाउनेमा अन्योल छ ।

सरकारद्वारा प्रस्तुत कुल बजेटबाट जिल्लाका स्थानीय तहले पाउने बजेटको सीमा समेत खुलाइएको छ । बजेट सीमाअनुसार आव २०७५÷७६ मा जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट फुङ्लिङ नगरपालिकाले पाउने भएको छ । फुङ्लिङ नपाले कुल ३६ करोड एक लाख रुपियाँ बजेट पाउने भएको छ । यस्तै बाँकी आठवटा गाउँपालिकामध्ये दोस्रो ठूलो बजेट सिरिजङ्घा गाउँपालिकाले २६ करोड २१ लाख रुपियाँ पाउने भएको छ । त्यसपछि आठराई त्रिबेणी गाउँपालिकाले २२ करोड २५ लाख रुपियाँ, पाथीभरा याङ्वरकले २१ करोड ३५ लाख रुपियाँ, फक्ताङ्लुङले २० करोड ३४ लाख रुपियाँ बजेट पाउने भएका छन् ।

सिदिङ्वा गाउँपालिकाले १९ करोड ५७ लाख रुपियाँ, मेरिङ्देन गाउँपालिकाले १९ करोड ५४ लाख रुपियाँ, मैवाखोला गाउँपालिकाले १६ करोड ७० लाख र मिक्वाखोला गाउँपालिकाले १४ करोड ६० लाख रुपियाँ रकम पाउने छन् । यो बित्तीय समानीकरण र सशर्त अनुदान रकम अन्तर्गत पर्दछ । गत आवभन्दा यसपटक अधिकांश स्थानीय तहले पाउने बजेटको आकार घटेर आएको छ ।


प्रतिक्रिया दिनुहोस्