सिसीद्वारा दोस्रो कार्यकालको सपथ ग्रहण

काएरो, इजिप्ट / इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले दोस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिनुभएको यहाँको राज्य सञ्चालित नाइल टेलिभिजन च्यानलले जनाएको छ । उहाँ इजिप्टको राष्ट्रपतिका रूपमा आगामी सन् २०२२ सम्म काम गर्नुहुनेछ ।

इजिप्टको संसदमा भब्य समारोहबीच भएको कार्यक्रममा राष्ट्रपति सिसीले सपथ खाँदै भन्नुभयो, “म भगवानलाई साक्षी राखी इजिप्टको गणतान्त्रिक व्यवस्थाको सुरक्षा गर्नेछु । संविधान र कानूनको सम्मान गर्नेछु । नागरिकको हितको सुरक्षा गर्नेछु र राज्यको एकता, स्वतन्त्रताको रक्षा गर्नेछु ।”

सपथपछि संसदलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले धेरै कठीन अवस्थाको सामना गर्दै राज्यलाई भविष्यमा थप स्थायित्वतर्फ डोराइरहेका छौँ ।” आफ्नो पहिलो कार्यकालमा आर्थिक सुधारका लागि बिताएको बताउँदै आगामी चार वर्ष स्वास्थ्य र शिक्षामा सुधारका लागि खर्चिने सिसीले सम्बोधनमा बताउनुभयो । “इजिप्टजस्तो मुलुकलाई नेतृत्व दिनु वास्तवमा नै कठीन र ठूलो काम हो,” उहाँले राष्ट्रका नाममा दिएको सम्बोधनमा बताउनुभयो ।

राष्ट्रपतिले भन्नुभयो, “इजिप्टले अन्तर्राष्ट्रिय सम्बन्धलाई साझेदारीका माध्यमबाट अघि बढाउने प्रयास जारी रहनेछ ।” सिसीले सन् २०१८ मा भएको निर्वाचनमा ९७ प्रतिशतभन्दा बढी मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । उहाँले पहिलो राष्ट्रपतिको सपथ इजिप्टको सर्वोच्च संवैधानिक अदालतसमक्ष सन् २०१४ मा लिनुभएको थियो ।
इजिप्टको इतिहासमा पूर्व राष्ट्रपति होस्नी मुवारकले पाँचौँ कार्यकालका लागि सन् २००५ मा सपथ खानुभएको थियो । उहाँलाई जनआन्दोलनको बलमा सन् २०११ मा पदच्युत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्