यस्तो रह्यो राष्ट्रपति भण्डारीको २८ महिने कार्यकाल

छापाबाट

काठमाडौं, १८ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले २८ महिने कार्यकालमा तीन मुलुकको औपचारिक भ्रमण गरिन् । भारत, श्रीलंका र युनाइटेड अरब इमिरेट्स ९यूएई० । बहुराष्ट्रिय भ्रमणमा जेनेभा पनि पुगिन् । तर चीन भ्रमणको अवसर जुरेन ।

यसमा भण्डारीले छिटोछिटो सरकार परिवर्तनलाई प्रमुख कारण ठानेकी छन् । आफ्नो सल्लाहकार समूह र निकट व्यक्तिसँगको अनौपचारिक कुराकानीमा उनले यस्तो धारणा राख्दै आएकी छन् ।

उनीअघिका राष्ट्रपति रामवरण यादवले दुईपटक चीन भ्रमण गरे, तर राजकीय नभई सांघाई एक्स्पो र बोआओ फोरममा सहभागी हुन । दुईपक्षीय सम्बन्ध र कूटनीतिमा निकै चासो राख्ने राष्ट्रपति भण्डारीले साना–साना विषय पनि उठाउने गरेकी छन् ।

राजदूतसँग छुट्टाछुट्टै छलफल गर्नुका साथै उनीहरूलाई नेपालमा भएको प्रगति सुनाउँछिन् । उनीहरूको चासो बुझछिन् । उनले छिमेकी चीन र भारतका कुनै कार्यक्रमलाई बेवास्ता गरिनन् । चीन भ्रमण नगरे पनि चिनियाँ सरकारको कार्यक्रम आफ्नै कार्यालयमा गर्न दिइन् ।

शीतलनिवासमै चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक विमोचन गरिएको थियो । उनकै पालामा राजदूतहरूलाई बग्गीमा ल्याएर ओहदाको प्रमाणपत्र बुझ्न थालियो । रक्षामन्त्री भइसकेको अनुभवले हुन सक्छ, भण्डारीले सैन्य कूटनीतिलाई पनि जोड दिँदै आएकी छन् ।

विश्व शान्ति मिसनमार्फत सेनाले नेपालको कूटनीति अघि बढाउँदै गएको उनको बुझाइ छ । आगामी दुई सातापछि कार्यकाल सकिने भए पनि उत्तिकै सक्रिय छिन् । कतिपयले उनलाई फेरि पनि ‘राष्ट्रपतिको दाबेदार’ का रूपमा व्याख्या गरिरहेका छन् । पछिल्लो समय राष्ट्रिय सभा सांसद मनोनयनको विषयबाहेक उनी खासै विवादमा परेकी छैनन् । उक्त विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन छ ।

उनले राष्ट्रपतिका रूपमा सबै भाषा, संस्कृतिलाई बढावा दिने कामसमेत गरेको सल्लाहकार समूहले जनाएको छ । ‘राष्ट्रपति भण्डारी कूटनीतिक मामिलामा निकै सचेत देखिनुहुन्छ, उहाँले नेपालीलाई नै छलफलको भाषा बनाउनुभयो, दोभासेमार्फत विदेशीसँग स्पष्ट गरी आफ्नो धारणा राख्नुहुन्छ,’ राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा। मदन भट्टराईले भने ।
२८ महिनायता चारपटक प्रधानमन्त्री फेरिए ।

भण्डारीले राष्ट्रपति पद सम्हाल्दा केपी ओली प्रधानमन्त्री थिए । त्यसपछि पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै अहिले फेरि ओली मुलुकको प्रमुख कार्यकारी पदमा छन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि चार मन्त्री र दुईपटक प्रधानमन्त्रीले लिएकाले ६ पटक हेरफेर भइसकेको छ ।

यस्तो अवस्थामा पनि राष्ट्रपतिका चार महत्त्वपूर्ण भ्रमण हुनुलाई स्वाभाविक मानिएको छ । यूएई भ्रमणलाई अस्वाभाविक भनिए पनि त्यहाँ ठूलो संख्यामा नेपाली समुदाय रहेकाले भ्रमण महत्त्वपूर्ण बनेको सल्लाहकार समूहको दाबी छ ।

तीनै तहको निर्वाचन सफल हुँदा सबैभन्दा खुसी देखिएकी राष्ट्रपति राष्ट्रिय गौरवको परियोजना, विभिन्न ठूला आयोजना, भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नपाएकोमा निकै दुस्खी छिन् । यसबारे उनले सम्बन्धित निकायका प्रतिनिधि बोलाएर पटकपटक घचघच्याएकी पनि छन् । राष्ट्रपति हुनुअघि भण्डारी वातावरण र रक्षामन्त्रीसमेत भएकी थिइन्, कान्तिपुरमा खबर छ ।


प्रतिक्रिया दिनुहोस्