बनाउदा बनाउदै भाँचियो सेती नदीमाथिको पुल

डोटी /   शिखर नगरपालिका–१ गेरुपानी र दिपायलको सिलगढी नगरपालिका–३ बाँफी जोड्ने सेती नदीको निर्माणाधीन झुलङ्गे पुल बनाउदा बनाउदै भाँच्चिदा तीनजना कामदार घाइते भएका छन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेपछि पुल भाँचिएको हो । पुल भाँचिदा घाइते तीनमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइतेको थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । अन्य घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा सुनसरीको औराहवनीका २४ वर्षीय दिलिपकुमार यादव, त्यही ठाउँका गम्भीर घाइते २० वर्षीय यवराज चौधरी र त्यही ठाउँकै २२ वर्षीय सुकेत ऋषिदेव रहेका छन् । काम गरिरहेका बेला पुलको दुवैतर्फका टावरहरु (पिलर) भाँचिएर नदीमा खसेको छ ।

पुलका लठ्ठाहरु नकसिएका कारण टावर भाँचिएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दिपायलका ईन्चार्ज दिलबहादुर कुवँरले बताए । आङ्गदावा शेर्पा सञ्चालक रहेको खम्बाचो–सविना शेर्पा निर्माण सेवा प्रालि चाबहिल काठमाडौंले पुल निर्माणको जिम्मा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्