बचतको व्याजदर ८ प्रतिशत तल ओर्लिने

१८ फागुन, काठमाडौं । गत साता केही बैंकले बचतको व्याजदर १० प्रतिशत तोकेपछि इतिहासमै पहिलो पटक हुन पुगेको बचत र निक्षेपको ब्याजदर घटाउन बैंकरहरु सहमत भएका छन् ।

‘हामीले बचतको व्याजदर यति गर भनेका छैनौं तर, कम्तिमा केही अन्तर हुनुपर्छ भनेका हौं,’ नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने ।

अहिले बचतमा अधिकत्तम १० प्रतिशत र मुद्दतिमा अधिकत्तम ११ प्रतिशत व्याजदर रहेको छ । यीबीचको ब्याज अन्तर मात्रै एक प्रतिशत छ । बचतमा व्याज बढ्दा अन्य बैंकमा कम व्याजमा रहेको पुँजी खोसाखोस हुने अवस्था बन्ने गरेको छ ।

पुँजी खोसिने भएपछि केही बैंकर्सले एशोसिएशनलाई बचतको व्याजदर नघटे मुद्दति निक्षेपको व्याजदर बढाउने चेतावनी दिएका थिए । एशोसिएशनले मुद्दतिमा ११ प्रतिशत बढि व्याज प्रस्ताव नगर्ने अनौपचारिक सहमति यसअघि नै गरिसकेका छन् ।

मूल्यवृद्धि दर ४ प्रतिशतको हाराहारीमा रहेकोले बचतमै १० प्रतिशत व्याज दिनुपर्ने अवस्था नरहेको एशोसिएशनको भनाई छ । राष्ट्र बैंकले भने बचतको व्याजदर बढ्नुलाई सफलताको रुपमा लिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्