सात वर्षभित्र नेपाल बालश्रममुक्त हुन्छ : मन्त्री विष्ट

काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले अबको सात वर्षभित्र नेपाल बालश्रममुक्त हुने बताउनुभएको छ ।

काठमाडौँमा आज उक्त मन्त्रालय र विभिन्न गैरसरकारी संस्थाद्वारा आयोजित प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री विष्टले भन्नुभयो, “नेपालमा बालश्रमको अन्त्य गर्न मन्त्रालयले विसं २०८२ सम्मका लागि ‘बालश्रम निवारण गुरुयोजना’ तयार पारिसकेको छ ।” अबको केही दिनभित्र गुरुयोजना पारित भइसक्ने उहाँले जानकारी दिनुभयो ।

एकातिर गरिबी र अर्काेतिर चेतना तथा प्रविधिको अभावले बालबालिका श्रम गर्न बाध्य भएकामा उहाँले दुःख व्यक्त गर्नुभयो । जनसमुदाय, नागरिक समाज, गैरसरकारी संस्था र सरकारी संस्था हातमा हात राखी अघि बढे मात्र बालश्रमको अन्त्य हुने उहाँले भनाइ छ । सम्पूर्ण बालबालिकाको पढ्ने र स्वस्थ जीवनशैली बिताउने अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री बिष्टले बताउनुभयो ।

सो अवसरमा मन्त्रालयका महानिर्देशक रामप्रसाद भट्टराईले बालश्रम सभ्य समाजको अभिशाप रहेको बताउनुभयो । कार्यक्रममा बालश्रमको अवस्थाका बारेमा सडक नाटक प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्