वनरक्षक शाहीलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङका कर्मचारीहरुले २ वर्षअघि हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । उनीहरुले निजामति कर्मचारीको तलब वृद्धि र बृति विकाससँग सम्बन्धित २२ बुँदे माग सरकारसँग गरेका छन् ।

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन ताप्लेजुङले बुधबार सदरमुकाम फुङ्लिङमा गरेको कार्यक्रममा ट्रेड युनियन ताप्लेजुङका कोषाध्यक्ष पारस न्यौपाने सरकारसँग २२ बुँदे माग गरिएको बताउनुभयो । न्यौपानेले कर्तव्य पालनाकै क्रममा हत्या गरिएका शाहीलाई निजामति शहीद घोषणा गर्न सरकारले आलटाल गरेको भन्दै सरकार यो बिषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामचन्द्र नेपालले कर्मचारीहरुसँग सम्बन्धित कार्यक्रम सहभागी हुने ट्रेड युनियनका पदाधिकारीलाई काजको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहबहादुर जिसी, नेपाल निजामति कर्मचारी संगठनका योगेश्वर भट्टराई, राष्ट्रिय निजामति कर्मचारी संगठनका डम्बर श्रेष्ठ र पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्