श्रीमतीको हत्या गरेर हराएको उजुरी, १५ दिनपछि कंकाल फेला

पाँचथर– फिदिम–३ का एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरि प्रहरीमा उनी हराएको उजुरी दिएर उम्कने प्रयास गरेका छन् । मृतकको शवको कंकाल १५ दिनपछि उत्खनन गरि पोष्टमार्टम गरि दाहसंस्कार गरिएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका ३ सिलौटीका ६१ वर्षीय डिकबहादुर सुनुवारले आफ्नै श्रीमती ४२ वर्षीया गंगामाया सुनुवारको हत्या गरेका थिए ।

गत फागुन ५ गते मध्यराती घरमा कोही व्यक्ति नभएको मौका छोपी उनले श्रीमतीलाई उत्तिसको दाउरा र मुक्का प्रहार गरेर हत्या गरेको प्रहरीको दाबी छ । हत्यापछि उनले शव घर अघिको आलुवारीमा खाल्डो खनेर पुरेका थिए ।

श्रीमतीको हत्यापश्चात सुनुवारले आफ्नी श्रीमती हराएको भन्दै प्रहरी चौकी पौवाभञ्ज्याङमा मौखिक उजुरी दिएको प्रहरीको भनाई छ । हत्या र उजुरीपछि घरैमा बस्दै आएका सुनुवारको गतिविधिमा शंकाष्पद रहेको पाइएपछि प्रहरीले उनलाई आइतवार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिई सोधपुछ र अनुसन्धान गर्ने क्रममा सुनुवारले श्रीमतीको हत्या गरेको स्वीकारको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
उनले श्रीमतीको हत्या गरेको स्वीकारेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव निरीक्षक विष्णुबहादुर खड्काको कमाण्डमा गएको टोलीले खोजबिन गर्ने क्रममा गंगामायाको कंकाल फेला पारेको प्रहरीको भनाई छ ।

घरमा छोराछोरी नभएको मौका छोपी सुनुवारले आफ्नी श्रीमतीको निर्ममतापूर्वक हत्या गरेर आलुबारीमा पुरेको प्रहरीले जनाएको छ । उत्खनन् गरिएको कंकाल पाँचथर जिल्ला अस्पतालमा पोष्टमार्टम गरि अन्तिम संस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरि आलुबारीमा गाढ्ने सुनुवारलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरि कर्तव्य जान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्