वीरगञ्जबाट ५६ लाखसहित ४ जना हुण्डी कारोबारी पक्राउ

८ माघ, वीरगञ्ज । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न ४ जनालाई रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् ।राजेश रौनियार, विनित अग्रवाल, मनोज पटेल र भारतीय नागरिक रक्सौलका रितेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५६ लाख रुपैयाँ नगद, दुई बोरा कागजपत्रहरु, मोबाईल ६ थान बरामद गरेको छ ।

त्यस्तै विभिन्न व्यक्तिले दिएको २० लाख जतिको चेक समेत बरामद भएको छ । पक्राउ परेका मध्ये राजेश हुण्डी कारोबार हुँदै आएको घरका धनी हुन् भने बिनित कर्मचारी र मनोज मनी एक्सचेन्जका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली सेवाग्रहीका रुपमा पुगेको मुम्बईको गंगाराम अस्पतालमा भर्ना भएको विरामीलाई रकम पठाउनुछ भन्दै हुण्डी काररोबारीसम्म पुगेको थियो ।

वीरगञ्जको लिंक रोडमा रहको दक्षिणकाली अटोपार्टसको आडमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा छापा मारेको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए । ‘उनीहरुले हुण्डीको कारोबार गरिरहेको जानकारी हामीले पायौं’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘हुण्डी कारोबारका लागि प्रयोग भएका सबै कागजपत्र र नगदसहित नियन्त्रणमा लिन सफल भयौं ।’

हुण्डी कारोबारमा संलग्न अन्य व्यक्तिको पनि पहिचान भएको भन्दै प्रहरी उपरीक्षक रेग्मीले उनीहरुको खोजी भइरहेको बताए ।

उनीहरुले अमेरिका, सिंगापुर, मलेसिया, हङ्कङ तथा युरोपियन मुलुकहरुमा समेत हुण्डी मार्फत रकम पठाउँदै आएको काजपत्र फेला परेको प्रहरीको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्