एसईईको नतिजा प्रकाशित, (नतिजासहित ) यसरी हेर्न सकिन्छ

काठमाडौं , ९ असार। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा भर्खरै प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना सफल भएका छन् । त्यसैगरी जीपीए ३।२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी सफल भएका छन् । त्यस्तै जीपीए २.८५ देखि ३े.२० सम्म ५० हजार ५ सय ४६ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना सफल भएका छन् । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् । ग्रेड सी र त्यो भन्दा कम अंक ल्याउने विद्यार्थीले यसैवर्ष सबै विषयको परीक्षा दिन पाउने छन् ।

नतिजा हेर्नका लागि

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np , राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.comb मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।

 

कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए । यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्