पाकिस्तानका बीस हजार मतदान केन्द्र संवेदनशील

इस्लामावाद / पाकिस्तानको निर्वाचन आयोगले बीस हजार भन्दा बढी मतदान केन्द्रहरूलाईसंवेदनशील मतदान केन्द्रका रुपमा बिहीबार घोषणा गरेको छ ।

आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रहरू मध्ये बीस हजार ७८९ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषणा गरिएको हो ।
आयोगका अधिकारीहरूले देशभरीमा ८५ हजार ३०७ ओटा मतदान केन्द्रहरु तोकिएको जानकारी दिएका छन् । पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुने तय भएको छ । सो निर्वाचन मार्फत् देशका सवै चार प्रदेश र संघीय राजधानी इस्लामावादबाट जनप्रतिनिधिहरू चयन हुनेछन् । संवेदनशील मतदान केन्द्रहरु देशको उत्तरपश्चिमी खैबर पाख्तुङख्वा प्रदेशमा सवै भन्दा धेरै रहेका छन् । सो प्रदेशमा सात हजार ३८६ ओटा संवेदनशील मतदान केन्द्रहरू रहेको अधिकारीहरूले बताएका छन् ।

त्यसैगरी दक्षिणी सिन्ध प्रान्तमा पाँच हजार ७७६ ओटा संवेदनशील मतदान केन्द्रहरु रहेको घोषणा गरिएको छ । विद्रोही समूहहरू, राष्ट्रवादी र लडाकू समुहहरुबाट विभिन्न प्रकारका आक्रमणहरू हुन सक्ने खतरा आँकलन गरेर संवेदनशील मतदान केन्द्रहरू तोकिएको आयोगले जनाएको छ ।
देशको पञ्जाब प्रदेशमा संवेदनशील मतदान केन्द्रहरूको सङ्ख्या पाँच हजार ६८६ रहेको छ भने दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एक हजार ७६८ ओटा संवेदनशील मतदान केन्द्रहरु रहेका छन् ।

संघीय राजधानी इस्लामावादका ३६० मतदान केन्द्रमध्ये १७३ मतदान केन्द्रलाई संवेदनशील घोषणा गरिएको छ । संवेदनशील घोषणा गरिएका मतदान केन्द्रहरू सुरक्षा सतर्कता बढाईने र क्यामेराहरू पनि जडान गरिने आयोगका अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्