भूकम्पले ढलेको धरहरामा महानगरपालिकाको ‘घुम्टो’ (फोटो फिचर)

 

काठमाडौं, १६ साउन / २०७२ बैसाखको भूकम्पले ढलेको काठमाडौं सुन्धारास्थित धरहराको बाँकी संरचना जोगाउन काठमाडौं महानगरपाकिाले आज बुधबार पाल ओढाएको छ ।

लगातारको वर्षाका कारण बाँकी संचरना समेत ढल्न सक्ने देखिएपछि महानगरले आज पाल ओढाएको हो । भीमसेन थापाको पालामा निर्माण भएको धरहरामा प्रयोग भएको ऐतिहासिक इँटालगायत धरहरा क्षेत्रको सार्वजनिक सम्पति संरक्षणका लागि पाल लगाइएको महानगरपालिकाले जनाएको छ ।

आज महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्काले धरहरा पुनर्निर्माण प्रक्रिया अगाडि नबढेसम्म बाँकी संरचना जोगाउन पाल लगाइएको जानकारी गराउँदै पाल ओढाउने कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

भूकम्पले धरहरा ढलेको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणको काम शुरु हुन सकिरहेको छैन । अहिले केपी ओली नेतृत्वको सरकारले धरहरा पुनर्निर्माण लागि प्रारम्भिक चरणको काम शुरु गरेको छ ।

धरहरा पुनर्निर्माणका लागि सरकारले निर्माण कम्पनी छनौटको कामलाई अगाडि बढाएको छ । धरहरा पुनर्निर्माणका लागि विभिन्न निर्माण कम्पनीले आवेदन दर्ता गराई सकेका छन् । तर, सरकारले कम्पनी छनोटको काम गर्न बाँकी नै रहेको छ ।

नयाँ डिजाइन अनुसार धरहरा पुनर्निर्माणको लागत ४ अर्ब २७ करोड भ्याट र १० प्रतिशत मूल्यवृद्धि शुल्कसहित पुग्ने जनाइएको छ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ ।

बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ । धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।

धरहराको डिजाइन भने केज कन्सल्ट प्रालिले तयार गरेको छ । डिजाइन अनुसार धरहरा २४५ फिट अग्लो हुने बताइएको छ । बाहिरबाट हेर्दा विसं १९९० सालको भूकम्पमा भत्किनुअघिको जस्तै ११ तलाको देखिनेछ भने भित्री भागमा करीब २० तलासम्म जाने महानगरपालिकाले जानकारी दिएको छ ।

मुगलशैलीमा नै निर्माण हुने धरहराको टुप्पोसम्म जान दुईवटा लिफ्टको व्यवस्था हुनेछ । प्रत्येक लिफ्टले एक पटकमा १० जनालाई ओसार्ने क्षमता राख्ने योजना छ ।

धरहराको भित्री भागको १८ र १९ तलामा १७ जनासम्म अट्ने थिएटर राखिनेछ जसमा बसेर पर्यटकले धरहराको ऐतिहासिक पक्षबारे जानकारी लिन सक्नेछन् ।

धरहरा घुम्न आउनेका लागि केहीबेर सोही स्थानमा रमाउन सक्नेगरी आकर्षक फोहोरासहितको बगैँचा, रेस्टुराँको पनि व्यवस्था गरिने छ । त्यस्तै टक्सारका पूराना मेशिन, छापिएका मुद्रा र गोश्वारा हुलाकका ऐतिहासिक टिकटलगायतका सामग्री राखेर संग्रा्रहलय समेत राखिने समेत डिजाइनमा उल्लेख छ ।

लोकेश लिबाङ लिम्बू


प्रतिक्रिया दिनुहोस्