कोरियन भाषाको परीक्षा शुल्क बुझाउनको लागि ग्लोबल बैंक नै किन ?

काठमाडौं, चैत ९ । कोरियन भाषा परीक्षाको शुल्क बुझाउन भन्दै सुरेश आले बिहीबार मध्यरातदेखि नै ग्लोबल आइएमई बैंकको शाखा कीर्तिपुरमा लामबद्ध भएका थिए। पहिले फारम भरेर बुझाउनेहरुको परीक्षा पनि चाँडो हुने र पास भएमा छिटो जान पाइने भएकाले आफू मध्यरातदेखि लाइन बसेको उनले बताए। चाँडो फारम भर्दा परीक्षा पनि चाँडो हुन्छ, अनि पास भए पहिलो लटमै जान पाइन्छ भन्ने सुनेर रातिदेखि नै लाइन बसेको हो’ आलेले भने। यसैगरी हजारौं युवाहरु कोरियन भाषा परीक्षाको लागि शुल्क बुझाउन मध्यरातदेखि नै बैंकका शाखाहरुमा लामबद्ध भएका छन्।बैंकमा पहिले पैसा बुझाएर त्यसकै भौचर नम्वर अनलाइन फारम भर्दा चाहिने भएपछि पहिले नै युवाहरु बैंकका शाखामा लाइन लाग्न थालेका हुन्। परीक्षा शुल्क २४ अमेरिकी डलर अर्थात करिब २५१० रुपैयाँ तोकिएको छ। ग्लोबल आइएमई मात्रै नभई अरु बैंकहरुबाट पनि शुल्क लिएको भए सास्ती कम हुने लामबद्ध युवाहरुको बुझाई छ। ‘यदी अरु बैंकहरुबाट पनि पैसा बुझाउन पाएको भए त, यही बैंकमा मात्रै आउनु पर्दैनथ्यो, बिहान लाइन बसे पनि हुन्थ्यो’ आलेले भने।

इपिएस कोरिया शाखाले भने आफूहरुको ‘डलर खाता’ ग्लोबल आइमई बैंकमा भएकाले यही बैंकमार्फत शुल्क लिइएको जनाएको छ। ‘शुल्क डलरमा भुक्तानी हुन्छ, हाम्रो डलर भुक्तानी खाता यही बैंकमा छ, यस्तो खाता धेरै बैंकमा खोलीरहनुपर्ने पनि होइन’ शाखाका सूचना अधिकृत शोभाकर भण्डारीले भने ‘त्यसकारण यो बैंकमार्फत नै शुल्क लिइएको हो। बैंकका ११८ शाखाहरुबाट छुट्टै काउन्टरहरु राखेर शुल्क लिइएकाले कुनै असहजता नरहेको उनले दावी गरे। पहिलो दिन नै फारम भर्नुपर्ने सोचका कारण पहिलो दिन भीड देखिएको उनले बताए। यदी अन्तिम दिनसम्म यस्तै भीड रहे, आगामी वर्षहरुमा अन्य बैंकमार्फत पनि आवेदन लिन सकिनेगरी इपिएस शाखा अघि बढ्ने उनले जानकारी दिए।

‘पहिले ४ दिन मात्रै फारम भर्ने अवधि हुन्थ्यो, अहिले १० दिन छ, आत्तिनुपर्ने कारण नै छैन’ भण्डारीले भने ‘पहिले १० ठाउँबाट आवेदन लिने गरेकोमा अहिले ११८ ठाउँबाट शुल्क बुझाउन पाइन्छ।’पहिलेजस्तो ४ दिनभित्रै आवेदन बुझाउनुपर्छ भन्ने सोचका कारण पनि युवाहरुमा हतारोपन देखिएको उनले बताए। भण्डारीका अनुसार पहिलो दिन मात्रै ३० हजार ४ सयले शुल्क बुझाएका छन्। दोस्रो दिन पनि सोही संख्यामा आवेदन पर्ने उनको अनुमान छ।

ग्लोबल आइएमई बैंकले पनि कोरियन भाषाको परीक्षा शुल्कका लागि छुट्टै काउन्टर राखेर व्यवस्थित गरिएको दावी गरेको छ। मिडिया एण्ड मार्केटिङ टिपार्टका अधिकृत प्रशान्त न्यौपानेले कोरियन भाषाका लागि कर्मचारीहरु थप गरेर छुट्टै काउन्टरहरु राखिएको बताए। धेरै युवाहरुलाई १० दिनको अवधि छ, भन्ने कुरा थाहा नभएर पनि हुन सक्छ, पहिलो दिन नै सबै आत्तिएकाले भीड देखिएको हो’ उनले भने। चैत १८ गतेसम्म फारम भर्न पाइने इपिएस शाखाले जनाएको छ।

पहिलो दिनभन्दा दोस्रो दिन भीड केही घटेको उल्लेख गर्दै न्यौपानेले ३र४ दिनपछि यी काउन्टर नै खाली हुने दावी गरे। परीक्षार्थीहरुमा पहिलो दिन फारम भर्दा पहिलो सिफ्टमै परीक्षा पर्ने र सो सिफ्टमा प्रश्नपत्र पनि सजिलो पर्ने मान्यता रहँदै आएको पाइन्छ। ‘दुई दिन दुई दुई सिफ्टमा परीक्षा हुन्छ, पहिलो सिफ्टमा परेमा प्रश्नपत्र पनि सजिलो हुन्छ’ आलेले भने। जेठ २६ र २७ गते भाषा परीक्षा हुँदैछ। परीक्षाका लागि आवेदकले काठमाडौं वा पोखरा केन्द्र छनौट गर्न पाउने छन्। यसको रिजल्ट २०७५ असार १६ सार्वजनिक गरिने इपिएस शाखाले जनाएको छ। शाखाका अनुसार उत्पादनमूलकतर्फ ४ हजार ८ सय र कृषितर्फ २ हजार ३ सय गरी ७ हजार १ सय जना परीक्षाबाट उत्र्तिर्ण हुने छन्।


प्रतिक्रिया दिनुहोस्