प्रधानमन्त्री देउबा आज राजीनामा दिदै, सरकार गठनअघि नै वाम एकता

 

२ फागुन, काठमाडौं । राजधानीबाट प्रकाशित भएका अखबारहरुको प्राथमिकतामा आज पनि एमाले–माओवादी एकता प्रक्रिया परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा यो विषयलाई आज छापेका छन् । केही पत्रिकाले वाम एकता सरकार गठनअघि हुने लेखेका छन् भने केहीले एकता संयोजन समितिबाट एकता टुंग्याउने तयारी भइरहेको दाबी गरेका छन् ।

सांसद् सिफारिस गर्दा तीन दलले बुझाएको सूची नमिलेको र आयोगले सच्याएर पठाउन गरेको आग्रहलाई पनि आजका पत्रपत्रिकाहरुले नछुटाइकन लेखेका छन् । समावेशीसमूहको प्राथमिकताक्रम अनुसार दलले सूची नबुझाएपछि आयोगले पुनः यसलाई सच्याउन भनेको पत्रपत्रिकाले लेखेको समाचारमा उल्लेख छ ।

पाँचवटा प्रदेशमा सरकार गठनको प्रक्रिया अघि बढे पनि ६ र ७ मा भने ढिलाइ भइरहेको छ । आजका पत्रपत्रिकाहरुले कहाँ, कसरी प्रदेश सरकार गठन हुँदैछन् भन्नेबारे पनि चर्चा–परिचर्चा गरेका छन् ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले पदबाट बाहिरिनै लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिन लागेको समाचार कान्तिपुर दैनिकमा छ भने अन्नपूर्ण पोस्ट दैनिकले दर्दनाक घरेलु हिंसाको चित्र प्रस्तुत गरेको छ ।

सरकारमा सहभागी हुनेबारे राजपामा विवाद बढेको, प्रदेश ४ मा मन्त्रीको आकांक्षी धेरै हुँदा व्यवस्थापन पेचिलो बनेको लगायत समाचारलाई पनि आजको पत्रपत्रिकाले महत्त्व दिएर छापेको छ ।

वाम एकता सरकार गठनअघि

एकल बहुमतीय सरकार बनेको सन्देश दिने गरी एमाले र माओवादी केन्द्र केही दिनभित्रै पार्टी एकतालाई औपचारिक रुप दिने कसरतमा जुटेका छन् ।

कान्तिपुर दैनिकका अनुसार, निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाएलगत्तै सरकार बनाउने योजनामा रहेका एमाले–माओवादीले त्यसअघि नै एउटै पाटी बनिसकेको सन्देश दिन खोजेका छन् ।

आयोगले ५ गतेभित्रै सूची बुझाइसक्ने तयारी गरेको छ । त्यसलगत्तै दुई दलका नेताले राष्टपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि अनुरोध गर्नेछन् ।

पार्टी एकताको विधि र सरकारको स्वरुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सैद्धान्तिक सहमति गरिसकेको समाचारमा उल्लेख छ । अब त्यसलाई वाम एकता संयोजन समितिले औपचारिकता दिनेछ ।

नयाँ पत्रिका दैनिकले एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको टुंगो लेखेको छ । समाचार अनुसार दुई अध्यक्षबीच भएका समझदारीलाई औपचारिकता दिन बुधबार बैठक डाकिएको छ ।

नयाँ पत्रिका दैनिकले आफ्नो समाचारको अगाडि लेखेको छ– एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम मोडालिटी एकता संयोजन समितिको बुधबार बस्ने बैठकले टुंगो लगाउनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले संयोजन समितिको बैठकबाट एकताको मोडालिटी अनुमोदन गरी पार्टी एकता गर्ने समझदारी गरेका हुन् ।

यी हुन् एकता संयोजन समितिका एजेण्डा

नयाँ पत्रिकाका अनुसार एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दैछ । पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटिको आकार र स्वरुप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेण्डा छन् ।

राजधानी दैनिकले एमाले र माओवादी केन्द्रले एकताको अन्तिम खाकामा आज सहमति जुटाउने जनाएको छ ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार र मंगलबार भएको गोप्य वार्ताको समझदारीअनुसार आज पार्टी एकता संयोजन समितिको बैठकमार्फत पार्टी एकताको मूलभूत विषयमा सहमति गरेर टुंगो लगाउने तयारी दुई दलले गरेका छन् ।

प्रधानमन्त्रीको राजीनामा आज

कान्तिपुर दैनिकका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने सोचमा पुगेको एक मन्त्रीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ ।

आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसद्को सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माण प्रक्रिया अघि बढ्ने छ ।


प्रतिक्रिया दिनुहोस्