एमालेको आकस्मिक स्थायी कमिटी बैठक जारी, पार्टी एकता बारे निर्णय हुने

काठमाडौं, २ फागुन :  माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमालेले आकस्मिक स्थायी कमिटिको बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि बोलाएको आकस्मिक बैठक जारी रहेको अध्यक्ष ओलीको प्रेस संयोजक चेतन अधिकारीले बताए ।स्रोतका अनुसार बैठकले पार्टी अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको सहमतिलाई अनुमोदन गर्ने छ । माओवादी अध्यक्ष प्रचण्डसँग पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन भएको ‘वान टू वान’ वार्ता पछि बैठक बोलाइएको हो ।निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुरको मानभवनस्थित घरमा ओली प्रचण्डबीच ‘वान टु वान वार्ता’ भएको थियो । ओलीले स्थायी कमिटिको अधिकारीको घरमा नै बैठक बोलाएका छन् । यो घरमा पछिल्लो समय ओली र प्रचण्डबीच वान टु वान छलफल भइरहेका छन् ।माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी अधिकारीकै घरमा एमालेको बैठक बस्न लागेको हो । संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ । ओलीले आफू र प्रचण्डबीच भएको सहमति पार्टीमा अनुमोदन गराउन लागेको अनुमान गरिएको छ । एमाले स्थायी कमिटि बैठक लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।


प्रतिक्रिया दिनुहोस्