ओली-प्रचण्ड भेट्ने गोप्य ‘अखडा’ मानभवनको रातो भिल्ला, को हुन् घरधनी शारदा ?

ललितपुर, २ फागुन । ललितपुरको मानभवनस्थित जिल्ला प्रशासन कार्यालयनजिकै एउटा सुविधा सम्पन्न ‘भिल्ला’ छ, जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो केही दिनयता गोप्य छलफल हुने गरेको छ ।

एमाले र माओवादीबीच पार्टी एकताको प्रसंग चलेयता प्रचण्ड र ओलीबीच यही भवनमा दर्जनौँपटक छलफल भयो । मंगलवार चितवनको भरतपुर पुगेर फर्किएका माओवादी अध्यक्ष प्रचण्ड विमानस्थलबाट सोझै मानभवनस्थित त्यही घरमा पुगे जहाँ पटक–पटक पार्टी एकताको विषयमा ओलीसँग छलफल हुने गरेको छ ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा छ, प्रचण्ड अहिले ललितपुरको खुमलटार बस्छन् । तर भेटको मिलनविन्दु मानभवन नै हुने गर्दछ ।

पार्टी एकताको गोप्य बैठक बस्नु पर्ने भएकोले मिडियाको पहुँचभन्दा बाहिर रहेको स्थानमा बैठक बस्नु पर्ने बाध्यता रहेको यी नेताका सहयोगीहरु बताउँछन् । एमाले–माओवादी बैठक माइतीघरस्थित एक व्यापारीको घरमा पनि हुने गरेको थियो ।

२०७२ सालमा एमाले र माओवादीबीच सरकार गठनको सहमति क्याप्टेन रामेश्वर थापाको आफन्तको घरमा भएको थियो । त्यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयमा माओवादी, कांग्रेस र एमालेबीच ललितपुरको सुनाकोठीस्थित व्यापारीको घरमा छलफल हुने गरेको थियो ।

व्यापारी अजेयराज सुमार्गीको बुद्धनगर, बिजुलीबजारस्थित घरमा पनि यस्तै महत्वपूर्ण छलफल हुने गरेको थियो । २०६२ सालको जनआन्दोलभन्दा पहिले कांग्रेस र एमालेको बैठक ललितपुरको ग्वार्कोस्थित कृष्णबहादुर महर्जजनको घरमा पनि हुने गरेको थियो ।

को हुन् शारदाप्रसाद अधिकारी ?

प्रचण्ड र ओलीबीच पछिल्ला दिनमा छलफल हुने गरेको घर सैलुङ कन्ट्रक्सन कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारीको हो । अधिकारी माओवादी अध्यक्ष प्रचण्डकापुत्र स्वर्गीय प्रकाश दाहालसंग निकट मानिन्थे । माओवादी अध्यक्ष प्रचण्ड बसेको घर पनि उनै अधिकारीको हो ।

तेस्रो विवाह गरेर परिवारमा विवाद भएपछि प्रकाश केही समय अधिकारीको घरमा बसेका थिए । नुवाकोट तुप्चेका अधिकारी माओवादी सशस्त्र द्वन्द्वको समयमा पार्टीप्रति झुकाव राख्ने गर्दथे । तर उनलाई द्वन्द्वकालमा माओवादीका नाममा चन्दा उठाएर खाएको आरोप लागेको थियो ।

गाडी पार्किङका लागि फराकिलो स्थान भएका कारण पनि नेताद्वयको रोजाइमा मावभवनको रातो भिल्ला पर्ने गरेको छ । अधिकारी माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीका उम्मेदवार पनि हुन् ।


प्रतिक्रिया दिनुहोस्