लोकमानविरुद्ध महाअभियोग प्रस्तावक शाहीले लिए प्रदेश ६ बाट मुख्यमन्त्रीको सपथ

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार प्रदेश प्रमुख खनालबाट सपथ लिँदै।

पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका माओवादी नेता महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश ६ का मुख्यमन्त्रीको सपथ लिएका छन्।

वाम गठबन्धनको सहमतिअनुसार उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। शुक्रबार दिउँसो प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई सपथ खुवाएका हुन्।

उनले सपथलगतै पदबहाली गरेका छन्। शाही कालीकोट ९ख० बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। उनी यसअघि ऊर्जामन्त्रीसमेत भएका थिए।

उनी २०३३ माघ १५ गते कालिकोटको विकट गाउँ नानीकोट–८ ९हालको पचालझरना गाउँपालिका० मा जन्मिएका हुन्। बाबु लालबहादुर र आमा रनकौडाका छोरा शाही दुई वर्षकै हुँदा बुबाको निधन भएको थियो। उनी माओवादी केन्द्रभित्र इमानदार छविको नेताका रूपमा चिनिन्छन्।

पूर्व लडाकू कमान्डर शाहीले कालिकोटमा माओवादी संगठन विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनी पार्टीमा ‘प्रज्ज्वल’ उपनामले चिनिन्छन्। २०६३ को विस्तृत शान्ति सम्झौतापछि ६ नम्बर डिभिजनको कमान्डर बनेका उनले स्वैच्छिक अवकाश रोजेका थिए।

उनी ०५२ मा माओवादी द्वन्द्व सुरु भएदेखि नै भूमिगत भएका हुन्। एसएलसीसम्म पढेका उनी माओवादी केन्द्र केन्द्रीय समिति सदस्य छन्।

कर्णाली अञ्चलमा पहिलोपटक माओवादी संगठन स्थापना भएदेखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेले। पछि कालिकोटको सैन्य इन्चार्ज भएर माओवादी सेनाको नेतृत्व गरे।
मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै शाही।

मुख्यमन्त्री शाहीले आफूलाई पढाउने शिक्षकको सल्लाहअनुसार २०४८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। उनले नेकपा मसाल एकता केन्द्रबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। २०४९ सालमा शाहीलाई प्रहरीले वारेन्ट जारी गरेको थियो।

पदबहालीपछि मुख्यमन्त्री शाहीले प्रदेश समृद्धिका लागि जस्तोसुकै कठिनाइसँग जुध्न तयार रहेको बताएका छन्। शुक्रबार एक कार्यक्रमबीच उनले आफ्ना योजना अघि सारेका थिए।

उनले भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य र पर्यटनलाई विशेष ध्यान दिँदै समृद्ध प्रदेश बनाउने योजना रहेको बताएका छन्।

उनका योजनामा ६ नम्बर प्रदेशमा रहेका प्रत्येक स्थानीय तहमा सडक सञ्जाल र विद्युतको पहुँच विस्तार गर्ने कार्यक्रम प्रमुख छ। हरेक विधाका शैक्षिक संस्था विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र रोजगारीको वातावरण बनाउनेमा जोड रहने उनले बताएका छन्।

त्यस्तै, ६ नम्बर प्रदेशका प्रत्येक जिल्लामा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने उनको योजना छ।

मानसरोवर, छायानाथ, कैलाश पर्वत, राराताल, शे९फोक्सुडो ताल, सुर्खेतको काक्रेविहार, कालिकोटको त्रिवेणी, दैलेखको ज्वाला केन्द्र लगायतलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने उनले घोषणा गरेका छन्।

कर्नाली प्रदेशमा जलवायु परिवर्तनले पारेको असर नियन्त्रण गर्न ‘ग्रिन प्रदेश’ का रूपमा विकास गर्ने पनि उनको योजना छ।


प्रतिक्रिया दिनुहोस्