ठाउँका ठाउँ दण्डित गर्छु–मन्त्री पण्डित प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १४:४३ रासस ७ फागुन, काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताएका छन् । वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नका लागि आफू तयारी अवस्थामा रहेको बताए । मन्त्री पण्डितले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउन आफू ऐन तथा नियम नै संशोधन गर्ने पक्षमा रहेको बताउँदै प्लाष्टिकको थुप्रोले विष्णुमतिको दोभानमा सगरमाथाको जस्तै चूचुरो बनाएकोमा चिन्ता व्यक्त गरे । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले सरकारको अब मुख्य ध्यान नै विकास र समृद्धि भएको बताउँदै वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दिशातर्फ अघि बढ्ने बताए । राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले सूचनाको पहुँच सबै नागरिकमा पु¥याउनुपर्नेमा जोड दिए । ट्रष्टकी अध्यक्ष राधिका पोखरेलले अब नेपालमा चाइल्ड केयर सेन्टर खोल्ने योजनामा रहेको जानकारी गराए । कार्यक्रममा मन्त्री पण्डित र थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।