प्रदेश ३ को बजेटबारे छलफल

हेटौँडा । प्रदेश नं ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयले हेटौँडामा आजदेखि दुई दिन चालु तथा आगामी आव २०७४/०७५ को बजेट तर्जुमामा विज्ञसँग छलफल कार्यक्रम शुरु गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले उक्त कार्यक्रमको उद्घाटन गर्नुहँुदै आगामी पाँच वर्षमा गर्न सकिने कामको मात्र योजनातर्जुमा गर्नुपर्ने बताउनुहुँदै सम्भव नहुने योजनातर्जुमा नगर्नु नै राम्रो हुने धारणा राख्नुभयो ।

 

सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश नं ३ कृषि, उद्योग ,शिक्षा, पर्यटन, ऊर्जा र जनशक्तिको सम्भावना भएको क्षेत्र भएकाले यसको समुचित उपयोग गर्न इमानदारीपूर्वक एकजुट भएर काम गर्न आवश्यक छ भन्नुभयो । सो अवसरमा मन्त्रालयले विज्ञ ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, तीलचन्द्र भट्टराईलगायतका पाँच जनासँग चालु वर्ष र आगामी आवको बजेटसम्बन्धी संविधानमा भएको व्यवस्था तथा कानूनी व्यवस्थाबारे छलफल गरी प्रदेश सरकारलाई सुझाव दिनेछ ।

प्रदेश नं ३ को मन्त्रिपरिषद्ले चालू वर्षको बजेट यही चैत २० गते प्रदेशसभामा पेश गर्ने जानकारी दिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्