सिड्नीमा ‘नेपाल भ्रमण वर्ष (२०२० ) को भब्य शुभारम्भ

सिड्नी, २२ पुस अस्ट्रेलियाको पर्यटकीय नगरी सिड्नीस्थित ओपेरा हाउसको आँगनबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भ गरेका हुन् ।

मंगलबार नेपाली राजदूतावासको आयोजना तथा एनआरएन अस्ट्रेलियाको सहयोगमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरिएको हो । कार्यक्रमको सुरूमा अस्ट्रेलियामा डढेलाले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख प्रकट गर्दै मौनधारण गरिएको थियो ।

शुभारम्भमा मन्त्रीले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । उनले नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताउदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे ।

मन्त्री भट्टराईले अस्ट्रेलियाले यो पीड़ादायक अवस्थाबाट मुक्ति पाउने आशा व्यक्त गरे । मन्त्री भट्टराईले भने, ‘अस्ट्रेलियाली जनताले भोग्नु परेको प्राकृतिक विपत्तिप्रति नेपालको गहिरो सहानुभूति छ । मलाई आशा छ, चाँडै नै अस्ट्रेलियाले यो पीड़ादायक अवस्थाबाट मुक्ति पाउनेछ ।’

मन्त्री भट्टराईले गत वर्ष झन्डै तीस हजार अस्ट्रेलियाली नेपाल भ्रमणमा गरेको र वर्ष त्यो संख्या १ लाख पुग्ने अपेक्षा गरिएको बताए । कार्यक्रममा न्यु साउथ वेल्सको प्रदेश सभाका सभामुख जोनाथन वडीले नेपाल सुन्दर मुलुक भएको र एक पटक हेर्न पर्ने बताए । ओडीले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।

कार्यक्रममा एनएसडब्लुका पूर्वप्रिमियर नाथन रिजले आफू मार्च महिनामा नेपाल जान लागेको जानकारी दिए । कार्यक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । नेपाली स्वोयाम्सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरे ।

संसदमा औपचारिक कार्यक्रम

कार्यक्रमपछि अष्ट्रेलिया न्यु साउथ वेल्सको संसदमा नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा मन्त्री भट्टराईले आगलागीको कारण मृत्यु भएकाको परिवारमा समवेदना व्यक्त गरेका थिए ।

मन्त्री भट्टराईले नेपाल र अस्ट्रेलियाबीचको कुटनीतिक सम्बन्ध ६८ औं वर्ष पुगेकोमा दुई देशको सम्बन्ध अझै राम्रो हुने विश्वास लिएको बताए । उनले नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने मात्रै नभई हरेक पर्यटकको सुरक्षाको लागि काम गरिरहेको बताए । पर्यटन पूर्वधारको विकासको लागि गौतमवुद्ध, पोखरा विमानस्थाल निमार्ण गरिरहेको उनले बताए । उनले नेपाल भ्रमण गर्नेलाई पर्यटन व्यवसायीले विशेष छुट दिएको जानकारी दिए ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत दाहालले नेपाल सुन्दर प्रकृति, संस्कृति, हिमालको लागि राम्रो भएको बताउदै अष्ट्रेलियाका नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गरे ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष कंडेलले अष्ट्रेलियाको नेपाली समुदायले अग्निपीडितको लागि सहयोग गरिरहेको जानकारी दिए। उनले भने, ‘हामीले २० हजार डलर संकलन गरी हस्तान्तरण गरिसकेका छौं । फेरि ५ हजार डलर संकलन भएको छ ।’


प्रतिक्रिया दिनुहोस्