फुङ्लिङ नगरको सार्वजनिक स्थलमा सरसफाई

ताप्लेजुङ। सदरमुकाम फुङ्लिङबजारको बसपार्क , हाटबजार क्षेत्र लगायत सार्वजनिक स्थलमा शुक्रबार सरसफाई गरिएको छ । शनिबार र आइतबार हुने तमूहरुको दुई दिने केन्द्रीय पार्षद भेला तथा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको पूर्वसन्ध्यामा शुक्रबार नगर क्षेत्रको सार्वजनिक स्थलहरुमा सरसफाई गरिएको हो ।

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव मूल आयोजक समिति र तमू ह्युल छोँज धीँ जिल्ला कार्यसमितिको अगुवाइमा नगर क्षेत्रमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेनसहितका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, बिद्यार्थी, उद्योगी, व्यवसायी, सामाजिक सङ्घ-संस्थाका अगुवा तथा स्थानीयको सहभागिता रहेको थियो । नेपाल भ्रमण वर्ष सन् २०२० सँगै जिल्लामा आयोजना हुने महोत्सव लगायतका कार्यक्रमलाई लक्षित गरी सरसफाईको कार्य गरिएको पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव मूल समारोह समितिका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभयो ।

यता महोत्सव नजिकिएसँगै सदरमुकाम फुङ्लिङ बजार सिँगार्न पनि थालिएको छ । बजारबासीले स्वागतद्वार निर्माण तथा ध्वजापतकाहरु टाङ्न थालेका समिति संयोजक घिमिरेले बताउनुभयो । यता शनिबार आजदेखि सुरु हुने तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को १२ औं केन्द्रीय पार्षद भेलामा देशभरका करिव साढे ३०० गुरुङ समुदायका अगुवा फुङ्लिङमा भेला भएका छन् । देशभरका ६५ जिल्लाबाट गुरुङ समुदायका अगुवा फुङ्लिङमा जम्मा भएको तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष रेशम तमूले जानकारी दिनुभयो ।

तमुका अनुसार पहिलो दिन फुङ्लिङ नगर परिक्रमापछि केन्द्रीय पार्षद् भेला औपचारिक कार्यक्रममा परिणत हुने छ । सभामा विभिन्न पाँच वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको समेत केन्द्रीय अध्यक्ष तमूले जानकारी दिनुभयो । स्थानीय व्यवस्थापकको जिम्मेवारी पाएको तमु ह्युल छोँज धीँ को ताप्लेजुङ जिल्ला समितिका सचिव देवराज गुरुङका अनुसार दुई दिने सभाले बिभिन्न कार्यपत्र र छलफलपछि फुङ्लिङ घोषणापत्र जारी गर्ने छ ।
सभामा आउँदो २०७८ सालमा गरिने राष्ट्रिय जनगणना र गुरुङ समुदायका अगुवाको भूमिकाबारे पनि चर्चा हुने भएको छ । नेपालको शासकीय प्रणाली, पहिचानको मुद्दा र विश्व परिवेशमा आधारित रहेर प्रस्तुत हुने कार्यपत्रपछि सुझाव र टिप्पणीका आधारमा त्यसलाई साझा धारणा बनाउने तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्ले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्