क्षितिज भाग–२ सार्वजनिक

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १८ बैशाख / ताप्लेजुङका नवोदित स्रष्टाहरुको संयुक्त गजल सङ्ग्रह ‘क्षितिज भाग–२’ सार्वजनिक (विमोचन) गरिएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठान ताप्लेजुङद्वारा सदरमुकाम फुङ्लिङमा मङ्गबार आयोजित एक कार्यक्रमकाबीच ‘क्षितिज भाग–२’ संयुक्त गजल सङ्ग्रह सार्वजनिक गरिएको हो ।

हाम्रो ताप्लेजुङ हाम्रो सान, साहित्य बचाऔं हाम्रो अभियान भन्ने नाराका साथ पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा अध्ययनरत युवा जमातको सक्रियतामा प्रकाशित उक्त गजल सङ्ग्रहको अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष किरण टी लिम्बूले सार्वजनिक गर्नुभएको हो । आठ महिला तथा १५ जना पुरुषसहित २३ जनाले लेख्नुभएको दुई सय नौ वटा गजलहरु सङ्ग्रहमा समावेश गरिएका छन् ।

          क्षितिज भाग–२ गजल सङ्ग्रह सार्वजनिक गरिँदै । तस्बिर: प्रयास ।

‘क्षितिज भाग–२’ पुस्तकमा समावेश गजलहरु देशभक्ति, राष्ट्रप्रेम, राजनीतिक, सामाजिक, आर्थिक, मायाप्रीति लगायत भावका रहेका छन् । यसअघि आठजना स्रष्टाहरुको गजलहरु समावेश गरेर ‘क्षितिज भाग–१’ प्रकाशित गरेकोमा दोस्रो भागसम्म आइपुग्दा २३ जना स्रष्टाहरुको गजललाई समावेश गर्न सफल भएको स्रष्टा डम्बर ओख्राबुले बताउनुभयो । साहित्य बचाऔं अभियानका रुपमा सुरु भएको कृति प्रकाशनको क्रमलाई निरन्तरता दिने स्रष्टाहरुले बताएका छन् ।

यता सङ्ग्रह सार्वजनिक कार्यक्रममा प्रकाशित कृतिको टिप्पणी साहित्यकार शान्तिराम नेपालले गर्नुभएको थियो । टिप्पणीका क्रममा नेपालले सङ्ग्रहमा समावेश गजलहरु गजलको नियममा आधारित नै रहेको आफुले पाएको बताउनुभयो । केही गजलको जबरजस्त काफिया मिलाएको भए पनि समग्रमा राम्रै र पठनीय नै गजल पुस्तकमा समावेश भएको उहाँले बताउनुभयो ।

यस्तै पुस्तकको विमोचन गर्नुहुँदै अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष लिम्बूले युवाहरुको प्रयत्नबाट प्रकाशित सङ्ग्रहले जिल्लाको साहित्य संरक्षण तथा विकासमा टेवा पुग्ने बताउनुभयो । नवोदित स्रष्टाहरुको सृजनामा केही अपुग देखिए पनि निरन्तरता दिएमा निखारता ल्याउने लिम्बूले विश्वास गर्नुभयो । कार्यक्रममा पुस्तकका लेखक तथा जिल्लाको अन्य साहित्यकारहरुले आ–आफ्नो रचना समेत वाचन गरेका थिए । कार्यक्रम कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो ।

-प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्