क्यान्सर पीडित मादेनलाई कोरियाबाट सहयोग

रासस – २ चैत्र २०७४
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–६, सुदापका क्यान्सर पीडित तोर्ण मादेनलाई दक्षिण कोरियामा कार्यरत नेपालीले रु दुई लाखभन्दा बढी रकम सहयोग गरेका छन्।

सुदाप प्रवास सम्पर्क समितिमार्फत दक्षिण कोरियामा कार्यरत युवाको सक्रियतामा मादेनको उपचारका लागि रु दुई लाख ३२ हजार ६६१ सहयोग प्राप्त भएको हो।

सो रकम बिहीबार शुक्रबारे बजारमा एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको छ। दक्षिण कोरियामा कार्यरत युवाबाट संकलन गरिएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको मादेन बचाउँ अभियानका अभियन्ता सन्तोष खेवाले बताए।

उक्त रकम गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू र मादेन बचाउँ अभियानका अभियन्ता गुमान खेवाले संयुक्तरुपमा पीडित परिवारलाई हस्तान्तरण गरे। रोजगारीका लागि मलेशिया पुगेका मादेनलाई आन्द्राको क्यान्सर भएको छ।

मादेनको उपचारका लागि यसअघि कतार, मलेशियालगायत विभिन्न देशमा कार्यरत युवाले सहयोग गरिरहेका छन्। मादेनका लागि यसअघि पनि रु दुई लाख ९८ हजारभन्दा बढी रकम सहयोग प्राप्त भइसकेको छ। मादेनको अहिले काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्