सुनको मूर्ति भन्दै ठगी, गर्ने तीनजना पक्राउ

पोखरा भदौ १ / पोखरामा सुनको मूर्ती भनी लाखौँ ठगी गर्दै आएका तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखराको विभिन्न स्थानमा सुनबाट बनेको जस्तै देखिने बुद्धको मूर्ती १३ लाखमा बिक्री गरी फरार भएका उनीहरूलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरिएको हो ।

दोलखा जिल्ला घर भई काठमाडौं–९ बस्दै आएका ५२ वर्षीय नवराज पाण्डे भनिने रामराज सिवाकोटीले बोकेको झोलामा खोजतलास गर्दा झोलाभित्र राखिएको सुनको जस्तो देखिने पहेलो धातुको बुद्धको मूर्ति फेला पारी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

सिवाकोटीसहित गोरखा जिल्ला घर भई पोखरा–८ बस्दै आएका ३३ वर्षीय रमेश श्रेष्ठ भनिने देवकुमार श्रेष्ठ र रामेछाप घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय देवराज प्रधान भनिने वसन्त बहादुर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट ६.१ केजी सुनजस्तो देखिने पहेलो धातुको बुद्धको मूर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, सुन जस्तै देखिने पहेलो धुलो, २ थान क्यासिनो कार्ड, भारतीय रासन कार्ड, भारतीय राजदूतवास काठमाडौं नेपाल लेखिएको कार्ड र विभिन्न बैंकहरूका चेक बरामद गरेको हो।

पक्राउ परेका व्यक्तिहरूले पोखरा ८ बस्ने पाराश्वर विश्वकर्मालाई सुनबाट बनेको प्राचीन मूर्ति हो भन्दै १३ लाख ठगी गरेको अनुसन्धानबाट खुलेको कार्कीले जनाए। ठगी गरेको उक्त पैसाले उनीहरू क्यासिनो जाने गरेको प्रहरी अनुसन्धानले खुलेको एसपी कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्