प्रतिवद्धतामा अडिग अध्यक्ष लिम्बु,तलबको ५ लाख बढि रकम फत्ताङलुङ डेभलपमेन्ट फाउडेशनमा जम्मा

ताप्लेजुङ । राजन लिम्बु (मुक्ति) ले स्थानीय तहको निर्वाचन २०७९ मा फत्ताङलुङ गाउँपालिकामा अध्यक्षको उम्मदवारी दिएका थिए । चुनावी घोषणापत्र कै कारण पनि स्थानीयस्तर देखि राष्ट्रियस्तरका मिडियामा लिम्बुले चर्चा कमाए । घोषणापत्रमा भएको पालिका अध्यक्ष निर्वाचित भए पश्चात पाउने सेवा सुविधा गाउँपालिकाबासीको हितमा प्रयोग गर्ने र अध्यक्षले चढ्ने गाडी तत्कालै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भन्ने बुँदाले धेरैको ध्यान तान्यो । आफ्ना घोषणा पत्र लिएर चुनाव प्रचारका लागि गाउँ गाउँ पुगे । र चुनाव पनि जिते ।


नेताले चुनावको बेला दिने आश्वासन र मिठो भाषणबाट आजित भएका जनतालाई लिम्बुले पनि आफ्ना प्रतिवद्धता पुरा गर्छन कि गर्दैनन् भन्ने आशङ्का थियो । तर उनले चुनाव जिते लगत्तैबाट आफ्ना प्रतिवद्धतालाई कार्यान्वयन गर्न तर्फ लागे । आर्थिक वर्ष २०८०÷८१ को नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै लिम्बुले आफ्नो प्रतिवद्धता अनुसार नै पालिका अध्यक्षले चढ्ने गाडीबाट चालु आर्थिक वर्षमा २६५ जनाले सेवा लिएको जानिकारी दिए । साथै चालु आर्थिक वर्षमा पालिकाले अरिद प्रकृया रहेको २ थान एम्बुलेन्स आए पश्चात सो चारपाङ्गै सवारी साधनलाई कार्यालय प्रयोजनमा उपयोग गरिने उल्लेख गरे ।


त्यस्तै प्रदेश सरकारले निर्दिष्ट गरे अनुसार पालिका अध्यक्षले पाउने सेवा सुविधा बापतको ५ लाख ८६ हजार ८ सय रुपैँया फत्ताङलुङ डेभलपमेन्ट फाउडेशन नामक संस्था स्थापना गरि जम्मा गरि उत्त रकम गाउँपालिकाबासीको हितमा प्रयोग गर्ने घोषणा समेत गरेका छन्।


आफ्ना प्रतिवद्धता अनुरुप काम गर्दै आएका अध्यक्ष लिम्बुले प्रस्तुत गरेको फत्ताङलुङ गाउँपालिकाका नीति,कार्यक्रम तथा बजेटः

कृषि ः
“फत्ताङलुङको विकासको आधारःकृषि र पशु पालनमा आमुल सुधार” भन्ने नारा लिएको पालिकाले गाउँपालिकामा संचालित जैविक मल कारखानामा उत्पादित मललाई पालिकाका सबै वडामा प्रयोग गरि विषाधि रहित अग्यार्निक जोन निर्माण गर्ने कुरा अघि सारेको छ ।

गाउँपालिकाको मुख्य नगदेबाली अलैँचीको उत्पादनमा वृद्धि गर्न आवश्यक अनुसन्धान गर्दै किटनाशक औषधी,सिँचाई, सुधारिएको भट्टीको व्यवस्थापन गर्दै उत्पादनलाई आधुनिकीकिरण, प्रशोधन,ब्रान्डिङ तथा बजारिकरणको व्यव्स्था गर्दै कुर्षिमा आत्म निर्भर बन्ने कार्यक्रम पालिकाले सञ्चालन गर्ने,पालिकाको उच्च हिमाली क्षेत्रमा रहेका चौरी खर्कहरुलाई व्यवस्थित गरि त्यस्को उत्पादन,प्रशोधन तथा विक्री वितरणको लागि कार्यक्रम संचालन गर्ने उल्लेख छ ।


त्यस्तै वडा नं. ६ को फले र वडा नंं. ७ को याङ्मालाई आलु पकेट क्षेत्रको रुपमा विकास गरि अन्य वडामा बाली प्रचुरतालाई आधार बनी एक वडा एक उत्पादन क्षेत्र विकास गरिने,माटो परिक्षण गरि स्थानी हावापानी सुहाउँदो खेतीबाली लगाउन कृषि अनुसन्धान केन्द्रमा निशुल्क माटो परिक्षणको व्यवस्था गरिने नीति,कार्यक्रम तथा बजेटमा उल्लेख रहेको छ ।

पर्यटनः
पर्यटकीय स्थलको बारे जानकारी दिने गाउँपालिकामा पर्यटन सुचना केन्द्र स्थापना गरिने, पर्यटकहरुलाई सहजता दिलाउन स्थानीय युवाहरुलाई ट्रेकिङ गाईड भाषा र तालिम दिईने कुरालाई पालिकाले अघि सारेको छ ।
त्यस्तै उच्च हिमाली क्षेत्रमा हुने पर्यटकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कञ्चनजंघा आधार शिविर पाङ्पेमा सहित लोनाक, खम्बाछेन, याङ्मा,मौवाटार, सिङ्जेमा ताल र टिपताला भञ्ज्याङ्मा आपतकालिन अक्सिजन सिलिण्डर सहितका उपकरण राख्ने गाउँपालिकाले घोषणा गरेको छ ।


त्यस्तै गाउँपालिकाले अम्जिलेसा–ठयाङ्गेम–ग्याब्ला–घुन्सा–खम्बाछेन हुँदै कञ्चनजंघा आधार शिविर(नर्थ बेसक्याम्प)सम्मको पदमार्ग,हेल्लोक–लासाङ–तोरोङ्देन–चाईराम हुँदै कञ्चनजंघा आधार शिविर(साउथ बेसक्याम्प)सम्मको पदमार्ग,ग्रेट हिमालयन ट्रेल अन्र्तगत घुन्सा–नाङगोला–ओलाङचुङगोला हुँदै लुम्बासुम्बा पदमार्ग,ग्याब्ला–हाँसपोखरी हुँदै ओलाङचुङगोला पदमार्ग,सेकाथुम–लोवाडाँडा,लोवापोखरी–हाँसपोखरी–ग्याब्ला–घुन्सा पदमार्ग,सेकाथुम–लोवाडाँडा,लोवापोखरी–हाँसपोखरी–जोङ्गिन–ओलाङचुङगोला–सिङ्जेमा तालसम्मको पदमार्ग,खेजेनिम–वाग्मापोखरी–मानाभरा–सिरेगु–माङ्छाँगा–मुरिङलाडाँडा पदमार्ग,तापेथोक–वोईताङ्गु हुँदै पाथीभरा मन्दिर जाने पदमार्ग,सिँवा–लिङखिम हुँदै पाथीभरा मन्दिर सम्मको पदमार्ग र सावादिन–बाघथला–वाग्मापोखरी हुँदै फुङ्फुङ्गे झरना सम्म पुग्ने पदमार्गको स्तरोन्नती गर्ने भएको छ ।

शिक्षाः
“निशुल्क र गुणस्तरीय विद्यालय शिक्षा” नारा अघि सारेर काम गर्दै आएको पालिकाले चालु आर्थिक वर्षबाट संचालन गरिएको पालिका भरिका विद्यालयमा अंग्रजी माध्यमबाट पठनपाठन गर्ने कार्यक्रमलाई निरन्तरता दिने,फत्ताङलुङ स्थायी ठेगाना भएका र नियमित क्याम्पस अध्ययन गर्ने विद्यार्थीलाई उच्च शिक्षाको लागि जिल्लाको पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययन गर्न छात्रावृति उपलब्ध गराउने जनाएको छ ।
वडा नं. ३ स्थित सिंवा माध्यमि विद्यालय र वडा नं. ६ लेलेप स्थित सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा आवाशीय छात्रावास संचालनमा ल्याईने,सिंवा माध्यमिक विद्यालयमा ईन्जिनियरिङ,कृषि र पशु विज्ञानका कक्षा संचालन गर्न पहल गर्ने, विद्यालयको दिवा खाजामा जङ्क फुड पुर्ण रुपमा प्रतिवन्ध गर्दै दिवा खाजालाई व्यवस्थपित गर्न राज्यले दिदैँ आएको १५ रुपैँयमा प्रति वद्यार्थी ५ रुपैया थप गर्ने घोषणा गरिएको छ । साथै सबै विद्यालयमा महिनाको एक दिन विद्यार्थीको स्वास्थ्य परिक्षण गरिने, माध्यमि तहका विद्यालयहरुमा जिवन उपयोगि तथा व्यवहारिक शिक्षा दिलाउन तालिम प्रदान गरिने समेत उल्लेख गरिएको छ ।

स्वास्थ्यः
गाउँपालिकाको चालु आर्थिक वर्षमा खरिद प्रकृयामा रहेको २ वटा एम्बुलेन्स आए पश्चात पालिकामा २४ घण्टा एम्बुलेन्स सेवाको व्यवस्था मिलाईने,पालिकाका स्वास्थ्य चौकी तथा स्वास्थ एकाईहरुमा आर्थिक वर्ष २०८०÷८१ बट तापेथोक प्राथमिक अस्पतालका मेडिकल अफिसरबाट टेलिमेडिसिन सेवा उपलब्ध गराईने साथै अन्य अस्पताल विशेषज्ञ डाक्टरहरुको समन्वयमा जटिल प्रकृतिका रोगहरुको निवारण गर्नका लागि थप टेलिमेडिसिन सेवा विस्तार गर्ने पालिकाले घोषणा गरेको छ । साथै पाकिाले आगामी आर्थिक वर्षमा पालिकामा ५ शैयाको आधारभुत अस्पताल भवन निर्माणको थाली गर्ने समेत उल्लेख रहेको छ । हाल सम्म पालिका अध्यक्ष चढ्ने गाडीबाट २६५ जनाले सेवा सुविधा लिएको उल्लेख गर्दै खरिद प्रकृयामा रहेका २ एम्बुलेन्स आएपछि सो गाडी कार्यलय प्रयोजनका लागि प्रयोग गरिने अध्यक्ष लिम्बुले बताएका छन् ।

खेलकुदः
पालिकाले आगामी आर्थिक वर्ष अन्तरपालिका स्तिरीय फत्ताङलुङ गोल्डकप फुटबल तथा साँस्कृतिक महोत्सवको आयोजना गर्नेछ । पालिकाममा खेलकुद विकास समिति गठन गर्ने, गाउँपाकिलाकाका खेल मैदानहरुको स्तरोन्नी गरि खेल क्षेत्रको विकास र विस्तार गर्ने पालिकाले घोषणा गरेको छ ।

पुर्वाधारः
आगामी दुई वर्ष भित्र गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरि सेवा प्रवाह गर्ने, योजनाको कार्यवन्यनमा प्रभावकारीता साथै अपनत्व कायम गराउन सम्बन्धित उपभोत्ताहरुलाई २० प्रतिशत श्रमदानमा सहभागि गराउने र श्रमदानमा बढि जुट्ने योजनालाई प्राथमिकता दिईने पालिकाले जनाएको छ । त्यस्तै संघीय सरकार र पालिकाको समपुरक लगानीम सिँवा पारि हाम्बरुङदेखि ताप्लिङ– पिथोङ साप्चसङवा–ईखावु सडक निर्माणको प्रारम्भ गर्ने, पालिकामा १२ महिना यातायात संचालन गर्ने वातावरण बनाउन पालिकाको स्काभेटरले नियमित सडक मर्मत तथा सरसफाई गरिने र विपद् प्रतिकार्य योजना अन्तरगत एक वडा एक हेलिप्याड निर्माण गरिने नीति,कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्