ताप्लेजुङमा विस्फोटक पदार्थसहित एक व्यक्ति पक्राउ

ताप्लेजुङ, १३ पुस / ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा ठूलो परिमाणमा विस्फोटक पदार्थसहित एक व्यक्ति पक्राउ परेका छन् । मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ बस्ने ३१ वर्षीय चन्द्रबहादुर बस्नेत एकथान कटुवा पेस्तोल र बिष्फोटक पदार्थसहित पक्राउ परेका हुन् ।

बरामद हतियार र बिस्फोटक पदार्थसहित बस्नेतलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : प्रयास ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलकै नेतृत्वमा गएको प्रहरी टोलीले पेस्तोल र ठूलो परिमाणमा बिष्फोटक पदार्थसहित बस्नेतलाई घरैबाट पक्राउ गरेको हो । प्रहरी टोली खोक्लिङ पुगेका बेला गोप्य सूचनाको आधारमा शनिबार पक्राउ परेका बस्नेत र बरामद सामग्री आइतबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ । बस्नेत नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह आवद्ध युवा परिषद् योङ रेड फोर्स ताप्लेजुङका सहसचिव रहेको खुल्न आएको डीएसपी फुयाँलले जानकारी दिनुभयो ।


प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा एकथान कटुवा पेस्तोल, इलेक्ट्रिक डेटोनेटर सात थान, नन इलेक्ट्रिक डेटोनेटर १७ थान, टाइम सेटिङ डिभाइस, रिमोट कन्ट्रोल सेट तीन थान, ब्याट्री सेट दुई थान, जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर (तार) साँढे तीन फिट तथा अन्य बिभिन्न प्रकारका दस्तावेजहरु समेत बरामद गरेको छ । हतियार तथा बिष्फोटक पदार्थसहित पक्राउ परेका बस्नेतमाथि जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्