ताप्लेजुङका अगुवाहरुको अभिव्यक्ति : सुकेटारसँग हाम्रो इतिहास, पहिचान र भावना गाँसिएको छ

काठमाडौं, । ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि तथा स्थानीयवासीले आपत्ती जनाएका छन् । सुकेटार विमानस्थल जिल्लाको इतिहास, पहिचान र जिल्लावासीको भावना गाँसिएको भन्दै उनीहरुले एकतर्फी रुपमा घोषणा गरिएको नयाँ नामाकरण फिर्ता लिनुपर्ने माग राखेका हुन् ।

यो नामाकरणले विवाद, विभाजन र अनाश्वयक तनाव मात्रै सृजना गर्ने उनले बताएका छन् । घोषणापछि लेखेका छन्, ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नु अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल र बिर्मश गरी सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, बिभाजन र अनावश्यक तनाबमात्र झेल्नुपर्दछ ।’

शनिबार आर्थिक वर्ष २०७८/ ७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्वा। रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिएको थियो । यो घोषणा लगत्तै ताप्लेजुङका अगुवाहरुले तिव्र असन्तुष्टी जनाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचत सांसद तथा नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पनि यो घोषणाप्रति असन्तुष्टी जनाएका छन् । सचिव भट्टराईले कुनै पनि ऐतिहासिक रुपमा कुनै विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नु अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामको बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि र नागरिक स्तरमा छलफल र विर्मश जरुरी रहेको बताएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष तथा प्रदेश नम्बर एकका सांसद बलबहादुर साम्सोहाङले सुकेटार विमान स्थललाई रवीन्द्र अधिकारी स्मृति विमान स्थल नामाकरण गर्नु अधिकारी र ताप्लेजुङ जिल्लावासीहरुको अपमान भएको भन्दै फिर्ता लिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष टंक वनेमले पनि यो नामाकरण तत्काल फिर्ता लिन माग गरेका छन् । ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले विमानस्थलको नाम परिवर्तन आफूहरुलाई मान्य नहुने बताए । भने, ‘स्थानीय र सरोकारवालाको माग भएमा ऐतिहासिक र औचित्यताको आधार कुनै पनि ठाउँको नाम परिवर्तन गर्नु पर्ने हुनसक्छ । स्थानीयको माग पनि नभई, ऐतिहासिकतालाई ख्यालै नगरी स्वेच्छाचारी तरिकाले नाम फेर्ने कुराले समाजलाई भाड्ने मात्रै गर्छ । यो हामी मान्दैनौं ।’

ताप्लेजुङका अगुवा तथा व्यायसायी बलबहादुर तामाङले नामाकरणप्रति आपत्ती जनाए । ताप्लेजुङका अगुवा टंक श्रेष्ठले सुकेटार विमानस्थलको आफ्नै कथा–व्यथा छ, पहिचान रहेको र यो पहिचान ताप्लेजुङवासीको मनमस्तिस्क र जनजिब्रोमा रहेको बताए । उनले लेखेका छन्, ‘ताप्लेजुङको पहिचान बोकेको एउटा सुन्दर र रमणीय ठाउँ सुकेटार, त्यहीं ठाउँको नामबाट विमानस्थलको नाम सुकेटार विमानस्थल रह्यो । यो प्रिय र गौरवपूर्ण नाम माथि सरकारले एक्कासी धावा बोलेको छ ।’ व्यवसायी तथा ताप्लेजुङका अगुवा रमेश बरालले सरकारले स्थानीय सरोकारवाला समुह र निकायसँग छलफल नै नगरी नाम परिर्वतन गरेर रवीन्द्र अधिकारको अपमान र ताप्लेजुङवासीको भावनामा चोट लगाउने काम गरेको बताए । उनले भने, ‘रवीन्द्र अधिकारीप्रति हाम्रो असाध्यै सम्मान छ । तर सुकेटार नाम हाम्रो इतिहास, भावना र पहिचानसँग जोडिएको छ । यो हामी मान्दैनौं ।’

दलहरुको सामूहिक विज्ञप्ति
ताप्लेजुङका युवा नेता सन्तोष मादेनले एक्कासी नाम परिर्वतनको घोषणा गरेर सरकारले ताप्लेजुङवासी र सम्मानित स्वर्गिय नेताको अपमान गरेको बताए । उनले भने, ‘सुकेटार केवल नाम मात्रै होइन यो त हाम्रो इतिहास, भावना र पहिचानसँग जोडिएको छ ।’ ताप्लेजुङका अगुवा मनमणी काफ्लेले सरकारको यो घोषणाप्रति ताप्लेजुङका सबै स्थानीयहरु असहमत रहेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारको यो घोषणाप्रति ताप्लेजुङका कोही पनि सहमत नरहेको जानकारी दिए । उनले भने, ‘यहाँका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय यो घोषणाको बिरुद्धमा उभिएका छन् ।’ यो घोषणा फिर्ता गर्नुको अर्को विकल्प नरहेको उनको भनाई छ ।

सुकेटारसँग इतिहासको साइनो
सुकेटारसँग ताप्लेजुङवासीको सम्बन्ध र इतिहासको साइनोको बारेमा अगुवा टंक श्रेष्ठले लेखेको आलेख :

पाथीभराडाँडा, सिद्धिङ्माडाँडा, मिल्केडाँडा, तिम्बुङपोखरी, ओलाङचुङगोला, सुकेटार, तोक्मेडाँडा आदि–आदि ताप्लेजुङका सुन्दर, मनमोहक र रमणीय ठाउँहरु १ यिनै सुन्दरमध्येका एक सुकेटारलाई वर्तमान सरकारले विवादमा ल्याउने काम गर्‍यो– सुकेटार विमानस्थलाई रविन्द्र अधिकारी विमानस्थल नाम दिएर । ताप्लेजुङ बजारबाट ८ किमि माथि समुृद्र सहतबाट करिब ८ हजार फिट उचाईमा रहेको सुकेटार टाढाटाढाको दृश्य देख्न सकिने एउटा सुन्दर र रमणीय ठाउँ हो । एर्पोट गिरान (विमानस्थल) बन्न अघि यो सुकेटार र देवलटार दुई नामले परिचित थियो । गिरान (एयरपोर्ट) खनिसकेपछि यसको नाम सुकेटार रहन गयो । उतिबेला एयरपोर्ट खन्न जानेहरु ‘गिरान खन्न’ जाने भन्थे ।

सुकेटार विमानस्थल


राजाको पहिलो सम्बोधन २००७ साल फागुन ७ गते । त्यही सम्बोधनमा राजा त्रिभुवनले ताप्लेजुङमा एक एयरपोर्ट निर्माण गर्ने घोषणा गरे । सुन्नमा आए अनुसार त्यो शाही सम्बोधनमा ताप्लेजुङमा एयरपोर्ट बनाउने कुरा मित्लुङका नरबहादुर श्रेष्ठको बलमा पर्न गयो । उनै नरबहादुर श्रेष्ठले २०११ सालमा डकोटा प्लेन लिएर एयरपोर्ट बनाउने ठाउँ हेर्न सुकेटारको आकाश माथि आए । नरबहादुर मन्सी गणेश बहादुर श्रेष्ठको दाजु हुन् । (नरबहादुर र गणेशबहादुर ताप्लेजुङको पहिलो एसएलसी) उनी नेपाली कांग्रेसका नेता थिए । विपी कोइरालाका नजिकका मान्छे । त्यो प्लेन आएको बेला हर्कजंग मादेन, इन्द्रनारायण श्रेष्ठ लगायतका समाजका अगुवाहरु सुकेटार गएका थिए । र, त्यहाँ सेतो कपडा क्रस पारेर ओछ्याइएको थियो । २००७ सालदेखि चर्चामा आएको एयरपोर्ट २०२७ सालदेखि बन्न सुरु भयो

हालको सुकेटार विमानस्थल देवलटार र सुकेटारलाई टेकेर बनेको हो । अहिले टावर बनेको ठाउँछेउको धावनमार्ग दक्षिण–पश्चिमको भागलाई देवलटार र पुर्वोत्तर भागलाई सुकेटार भनिन्थ्यो । सुकेटार क्षेत्रमा एकभन्दा बढी पोखरीहरु थिए । पोखरीहरु सुक्दै गएपछि त्यसको नाम सुकेटार भयो । देवलटार र सुकेटारको बिचमा पछिसम्म एउटा कालो पोखरी थियो । त्यो पोखरीबाट दोखु र हाङदेवा दुबैतिर पानी बग्दथ्यो । देवलटारतिरको जमिन सल्लाहबोटेको सुब्बा भैरवबहादुर मादेन जिम्माको थियो भने सुकेटारतर्फ लालबहादुर मादेन जिम्मा थियो । त्यसभन्दा पुर्वोउत्तरको जग्गा भने सुब्बा हर्कजंग मादेन जिम्माको हो ।

कुनैबेला यस सुकेटार र देवलटार क्षेत्रमा दोखुका पौडेल, हादेवाका घिमिरे, पोखरेल र भटराईको गोठ थियो । एयरपोर्ट बनिएपछि त्यसको नाम सुकेटार राखियो । यद्यपि पुरानो एयरपोर्टको मुख्य भाग भने देवलटारको थियो । एयरपोर्ट बिस्तार हुँदै गएपछि अहिले विमानस्थलको बढी भाग सुकेटारतिर नै पर्न गएको अवस्था छ । सुरुको विमानस्थलमा भैरवबहादुर मादेन, लालबहादुर मादेन र टेकबहादुर गुरुङ (तल्लो सुकेटार साधुधारानिरका बासिन्दा) को जमिन परेको थियो । तीनै जनाले जग्गाको मुवाबजा लिएको देखिन्छ ।

२०२७ सालको अन्त्यतिरबाट खन्न सुरु गरिएको एयरपोर्ट २०३१ साल (करिब ४ वर्ष) मा सम्पन्न भएको थियो । हवाई विभागबाट एयरपोर्ट खनाउन ई उपेन्द्र धिताल र एकाउन्टेन्टमा काठमाडौंका नेवार थिए, दुबै काठमाडौंका थिए । उहाँहरुलाई सहयोग पुर्‍याउन बहिदार नियुक्त गरिएको थियो । बतासेको भगिमान गुरुङलाई बहिदार राखिएको थियो । पछि बहिदारमा कालिदास तिवारी पनि रहनु भएको थियो । धितालकै नेतृत्वमा अमानतमा एयरपोर्ट खनाउने काम भएको थियो । सानो सानो ठेक्का दिएर खनाइन्थ्यो । एयरपोर्ट खन्न सुरुमा ११ लाखको बजेट छुट्याइएकोमा पछि २ लाख थपेर १३ लाखमा निर्माण सम्पन्न भएको थियो । एयरपोर्ट खनाउन आएका ई। धिताल र एकान्टेन्ट नेवार साधुधारानिरको टेकबहादुृर गुरुङको घरमा डेरा बस्थे ।

एयरपोर्ट बिस्तार
२०३८ साल कार्तिकमा विराटनगर विमानस्थलबाट सुकेटार विमानस्थलको लागि उडेको विमान ओभरलोडका कारण उड्ने बित्तिकै दुर्घटनामा प¥यो । उक्त दुर्घटनामा ताप्लेजुङका पुर्व रापंस तथा पुर्व राज्यमन्त्री चन्द्रबहादुर पालुंवा (दोखु) र ताप्लेजुङका सिडिओ गिरीराजमणि गौतमलगायत बच्चा समेत ९ जनाको निधन भयो । प्लाटस्पोर्टर ९६ सिटे मात्रै चल्दै आएको एयरपोर्ट टुइनअटर विमान चल्ने गरी विस्तार गर्ने योजना अनुरुप २०३८ सालबाट एयरपोर्ट विस्तारको काम अगाडि बढ्यो । एयरपोर्ट बिस्तारमा मुख्य रुपमा हर्कजंग मादेनको जग्गा प¥यो । केही जग्गा सिद्धिडाँडाको नारायण गुरुङको पर्‍यो । एयरपोर्ट बिस्तारका जानकारी काजी श्रेष्ठ ९२००५, फुङलिङ० भन्नुहुन्छ– ‘सुरुमा जग्गा सित्तै दिने भनिए पनि पछि सरकारले दिने सुविधा किन छाड्ने रु भन्ने भयो ।’ हर्कजंगका छोराहरु सर्न मादेन, नारायण मादेन, वीरबहादुर मादेन, पुर्णबहादुर मादेन र डिल्लीजंग मादेनले मुआवजा बुझे ।

एयरपोर्टको लागि ठेक्का खुलेपछि काजी श्रेष्ठले ठेक्का लिने विचार गर्नुभयो । तर उहाँसँग लाइसेन्स थिएन । चैतन्य सुब्बाको चिनजानको मान्छे (आफन्त १० संखुवासभको दुर्गा देवान राइको नाममा रहेको लाइसेन्स प्रयोग गरी चैतन्य सुब्बालाई समेत पार्टनर बनाएर काजी श्रेष्ठले ठेक्काको फाराम भर्नुभयो । ११ लाखको ठेक्का करिब ३० प्रतिशत घटी ७ लाख ७२ हजारमा ठेक्का लिनुभयो । ठेकदार देवानको लाइसेन्स मात्रै प्रयोग भयो । उनले त्यसबाट कुनै छ्याकन लिने काम गरेनन् ।

२०३९ सालबाट खन्ने कामको सुरुवात भयो । करिब १८ महिनामा सकिएको विमानस्थल बिस्तारका लागि हवाई विभागबाट काठमाडौंका उदय सिलवाल इन्जिनीयर आउनु भएको थियो । सिनियर ओभरसियर भए पनि उनी अनुभवी र जिल्ला जिल्लामा विमानस्थल बिस्तारमा जान सहजै तयार हुने भएकोले धेरै ठाउँमा उहाँ इन्जिनीयरको भुमिकामा जानुभएको बुझिन्छ । ईन्जिनीयर सिलवालको साथमा एउटा काठमाडौंका नेवार एकाउन्टेन्टको रुपमा आएका थिए ।

सिलवाल स्वभावमा सरल भए पनि काममा कडा र इमान्दार थिए । उनले हरेक १ फिट माटो पुरेपछि पानी हाल्न लगाउथे । पानीको लागि सुकेटारमा भएको साना पोखरीहरुको सहारा लिनु पथ्र्यो । पानी हालेपछि रोलर लगाउन लगाउँथे । सानो–सानो ढुंगा पनि त्यहाँ पर्न दिदैन थिए । आफ्नो पेसाप्रति अत्यन्तै इमान्दार थिए । उतिबेला अहिलेजस्तो रोलर ताप्लेजुङमा सम्भव थिएन । त्यसैले २०० लिटरको टिनको ड्रममा बिचमा दरो लौरो राखी सिमेन्ट जमाएर घरेलु रोलर बनाइएको थियो । त्यो रोलर एकातिर दुईजना र अर्कोतिर दुईजना भएर चलाउथे । काजी श्रेष्ठ भन्नुहुन्छ–‘कामदारलाई ज्याला दिदा– महिलालाई ३ सय, पुरुषलाई ४ सय र रोलर चलाउनेलाई ६ सय दिइएको थियो । ठेक्कामा नाफा भएन, घाटा पनि भएन ।’

ठेकेदारमा काजी श्रेष्ठ र चैतन्य सुब्बा भए पनि चैतन्य सुब्बाको तर्फबाट चैतन्यको काका सरोज मेन्याङबोले काम गरेका थिए । खन्न सुरु गरेको केही पछि काजीसरलाई साथ दिन विराटनगरबाट धु्रवनारायण श्रेष्ठ पनि आउनु भयो । उहाँ खासगरी शिकार खेल्नमा सौखिन मान्छे । धु्रवनारायण श्रेष्ठले सुकेटार एयरपोर्ट बिस्तारको काम पनि सघाउँदै विजय पतंवासँग शिकार खेल्न गइरहनु हुन्थ्यो । सुकेटारमा कालिदास तिवारीले सबैभन्दा पहिला २०३१ सालमा घर बनाएका थिए । तिवारीको त्यही घरको तलामाथि काजी श्रेष्ठले ठेक्काको लागि कोठा भाडामा लिएका थिए । छिरिङ भान्सेको रुपमा थिए । ठेक्दारहरु सबै त्यही खाना खान्थे । एयरपोर्ट बिस्तार अवधिभर प्लेन उडानमा कुनै बाधा भएन । २०३८ सालपछि पनि विमानस्थल पटक पटक बिस्तार हुँदै आएको छ । अहिले पनि बिस्तारको काम जारी छ ।

टावर
अहिले टावर बसेको ठाउँ भैरवबहादुर मादेन जिम्माको थियो । भैरवबहादुृर मादेनबाट कालिदास तिवारी र राम थापामगर (मगरकान्छाको छोरा) ले भैवरबहादुरको बुहारी विष्णुमाया (प्रेमबहादुर मादेन ) स्व० मादेनबाट २०३४ मा संयुक्त नाममा किनेका थिए । किनेको केही समय पछि नै टावरको लागि जग्गा अधिग्रहण भयो । त्यो अधिग्रहणमा कुवेर श्रेष्ठ ९हान्द्रुङे साइला० को जग्गा पनि पर्न गयो ।

सुकेटारको नाम परिवर्तन किन ?
सुकेटार– यसको आफ्नै कथा–व्यथा छ, पहिचान छ । यो पहिचान ताप्लेजुङवासीको मनमस्तिस्क र जनजिब्रोमा रहेको छ । अनि देश देशान्तरसम्म फैलिएको छ । यही नाम ताप्लेजुङवासीहरुको लागि प्रिय छ । यो प्रिय नामलाई नेपाल सरकारले हिजो जेठ १५ गते बजेट वक्तव्यमार्फट रविन्द्र अधिकारी विमानस्थल राखिदिएको छ । ताप्लेजुङको पहिचान बोकेको एउटा सुन्दर र रमणीय ठाउँ सुकेटार, त्यहीं ठाउँको नामबाट विमानस्थलको नाम सुकेटार विमानस्थल रह्यो । यो प्रिय र गौरवपूर्ण नाम माथि सरकारले एक्कासी धावा बोलेको छ ।

स्थानीय स्तरमा नाम परिवर्तनको लागि आवाज उठ्यो, माग भयो भने ऐतिहासिकता, आवश्यकता र औचित्यताको आधारमा कुनै पनि ठाउँको नाम परिवर्तन गर्नु पर्ने हुनसक्छ । तर स्थानीयको माग पनि नभई, ऐतिहासिकतालाई ख्यालै नगरी स्वेच्छाचारी तरिकाले नाम फेर्ने कुरा कुनै कोणबाट पनि उचित हुन सक्दैन । यस्ता गलत क्रियाकलापले समाजलाई भाड्ने र अस्थिरता पैदा गर्ने काम मात्रै गर्छ । नाम राख्ने र फेर्ने काम स्थानीयवासीको हो, सरोकारवालाको हो । अरुको अधिकार र भावनामाथिको हस्तक्षेपले कसैको हित गर्दैन । त्यसैले यस्ता बचकना निर्णयलाई तुरुन्त सच्याउनु पर्छ भन्ने आम जिल्लावासीको भनाइ रहेको पाइन्छ ।

नयाँपेज डटकमबाट


प्रतिक्रिया दिनुहोस्